चालु आर्थिक वर्षको असोजसम्ममा ३ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको असोजसम्ममा कुल २ खर्ब ८१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । सो अवधिको रेमिट्यान्स वृद्धि १६ प्रतिशत मात्र थियो ।
चालु आवको असोज महिनामा मात्रै एक खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको हो । चालु आवको भदौ महिनामा एक खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । बडादशैँको कारण पनि असोज महिनामा रेमिट्यान्स बढेको हो ।
असोज महिनामा भित्रिएको रेमिट्यान्स अमेरिकी डलरमा २५।९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह ७।९ प्रतिशतले बढेको थियो ।
चालु आवको असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या एक लाख १३ हजार ३ सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २ सय ९७ रहेको छ । गत आवको सोही अवधिमा अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ४७ हजार ९ सय ३२ र ५७ हजार ८ सय ६१ रहेको थियो ।
चालु आवको असोजसम्ममा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४०४ अर्ब ४ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।