एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बुधबार बस्दै छ। मध्याह्न १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने बताइएको छ।

एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ। अभियानमा जनप्रदर्शन, कोणसभा लगायतका गतिविधि गर्ने एमालेले बताएको छ।

अभियानको तयारीका लागि एमालेको उपमहासचिव विष्णु रिमाल र प्रदीप ज्ञवालीको नेतृत्वमा दुईवटा समूह दुईतिर खटिएका थिए।

ज्ञवालीको नेतृत्वमा एउटा समूह पूर्व पाँचथरको चिवाभञ्ज्याङ गएको थियो। रिमाल नेतृत्वको समूह बैतडीको झुलाघाटदेखि गोरखासम्मको बाटो अवलोकन गरेर फर्किइसकेको छ।

केही ठाउँमा ट्र्याक खोल्न बाँकी रहेकाले बाइपासका माध्यमबाट अभियानलाई जोड्दा झन्डै २ हजार किलोमिटर यात्रा गर्नुपर्ने देखिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

पहाडी क्षेत्रमा जाडो बढ्न थालेको र जाजरकोट, रूकुम पश्चिममा भूकम्पका कारण मानवीय तथा भौतिक क्षति भएकाले अभियान सार्नुपर्ने पनि एमालेमा कुरा उठिरहेको छ।

आज बस्ने सचिवालय बैठकले यसबारे ठोस योजना बनाउने एमालेले बताएको छ।

 

खबरपाटी
खबरपाटी