नेकपा (एमाले)को बाग्मती प्रदेश अधिवेशन गत सोमबारदेखि जारी छ । गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन गरेका थिए ।
त्यसपछि कमलादीस्थित प्रज्ञा भवनमा बन्द सत्र भएको थियो । त्यसयता नेतृत्व चयनका लागि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रस्साकस्सी चलिरहेको छ । तर, चौथो दिनसम्म पनि न सहमति हुन सकेको छ न निर्वाचन नै शुरू भएको छ । केबल निर्वाचन तालिका फेरबदल गर्ने काम भइरहेको छ ।
प्रदेश कमिटी चयन गर्न १३ जिल्लाबाट काठमाडौं आएका ११ सय प्रतिनिधिहरू कार्यालय च्यासल वरपर चिया पिउँदै, गफिँदै बसिरहेका छन् । बिहीबार त उनीहरूले टाइमपास गर्न नाचगानसमेत गरेका थिए ।
तर, सहमतिका नाममा निर्वाचन कार्यतालिका पटकपटक सारिँदै आएको छ । सहमति गराउने नाममा थकाउने र गलाउने नीतिमा एमाले नेतृत्व देखिन्छ । बुधबार नै शुरू हुने भनिएको मतदान शुक्रबार बिहानसम्म सरेको छ ।
तर, अझै मतदान भइहाल्नेमा नेता(कार्यकर्ता ढुक्क छैनन् ।
अध्यक्षका आकांशी पाँचबाट घटेर दुईमा झरेका छन् । अध्यक्षमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उम्मेदवार बाँकी छन् ।
कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उम्मेदवारी फिर्ता लिइसकेका छन् । उम्मेदवारी दिएका अध्यक्षका उम्मेदवार केशरबहादुर बुढाथोकी, केशव पाण्डे र सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्तिममा दुई उम्मेदवार कायम भएको हो । गएराति २ बजे उम्मेदवारको अन्तिम नामावली टाँसिएको थियो ।
सहमतिको प्रयास सफल नभएपछि आज मतदान गर्ने एमालेको तयारी छ ।
आज बिहान ९ बजेसम्म मतदान शुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी छ ।
अध्यक्षका उम्मेदवार कृष्ण दाहालले पनि आज निर्वाचन हुने बताए । ु१० बज्ला तर, अब मतदान हुन्छ,ु उनले भने । सहमति गराउन भन्दै अनेक दबाब र प्रभाव दिइए पनि दाहाल निर्वाचनमै अडिग भएको नेताहरू बताउँछन् ।
त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ढुंगेलले पनि निर्वाचनका लागि आफू तयार रहेको बताएका छन् । सहमतिको प्रयाससँगै उम्मेदवारहरूले प्रतिनिधिहरूसँग मतसमेत मागिरहेका छन् ।