काठमाडौं । बहुआयामिक प्रतिभाका धनी स्व बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । स्व चित्रकारको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा चित्रकारको परिवारद्वारा प्रकाशन गरिएको ‘बखतबहादुर शब्दचित्र स्मृति ग्रन्थ’ आज विमोचन गरिएको हो ।
राष्ट्रिय समाचार समिति ९रासस०का आलेख समाचार प्रमुख कृष्ण अधिकारीको लेखनमा आएको उक्त स्मृति ग्रन्थमा लेखकले बखतबहादुरसँग गरेको कुराकानी, आलेख, उहाँका केही लेख र अन्तर्वार्ता, उहाँबारे विभिन्न व्यक्तित्वले लेख्नुभएका लेख तथा तस्बिरहरू समावेश गरिएको छ ।
राजधानीकै बासिन्दा भएर पनि आर्थिक अवस्था कमजोर भएका स्व बखतबहादुरले गरेका सङ्घर्षलाई पुस्तकमा समावेश गरिएको छ । काठमाडौँको सामान्य परिवारमा जन्मनुभएका स्व चित्रकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको साहित्यकार चेतनाथ कँडेल बताउनुहुन्छ ।
विसं १९८७ माघ १८ मा काठमाडौँको याट्खा टोलमा जन्मनुभएका स्व बखतबहादुरले नेपालमा दश जोड दुई शिक्षा प्रणालीको आरम्भ गर्नुभएको थियो ।
चलचित्र संस्थानका जन्मदाता उहाँले थेरवादी केन्द्रीय दायक परिषद् ९विसं २०४९० का अध्यक्ष, चित्रकार९पुँ० समाजका संस्थापक अध्यक्ष, नेपालमा व्यवस्थित ढङ्गबाट बुद्धजयन्ती मनाउने कामको थालनी, विजयादशमीका दिन ‘शस्त्रास्त्र परित्याग दिवस’को सुरुआतकर्ता, इन्द्राणयी मन्दिर, काठमाडौँमा ‘अशोक स्मृति चैत्य’ स्थापनाकर्ता, थेरवादी बुद्ध विहार, लुम्बिनीमा पाली, नेपाली र अङ्ग्रेजीमा ‘धम्मपद’ उत्कीर्णकर्तालगायतका सामाजिक काम गर्नुभएको थियो ।
स्व चित्रकारसँग निकट रहनुभएका प्राडा भीमदेव भट्ट बखतबहादुर लगनशील, अध्ययनशील व्यक्ति भएको बताउनुहुन्छ । “बखतबहादुर सबैको आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको योगदानलाई नयाँ पुस्तासम्म लैजानुपर्छ”, उहाँ भन्नुहुन्छ ।
देवीदेवताका चित्र कोर्ने तथा रङरोगन गर्ने परिवारमा जन्मनुभएका बखतबहादुरले राणाशासन, पञ्चायतकाल र बहुदलीय गणतान्त्रिक सबै व्यवस्था भोग्नुभयो भने राजनीति, अध्यात्म, शिक्षा, सञ्चार, चलचित्र, फोटोग्राफी, सिनेमेटोग्राफीजस्ता एकापसमा सम्बद्ध–असम्बद्ध विषयमा संलग्न हुनुभयो ।
चलचित्र निर्माणमा फोटोग्राफी र क्यामेराको कामको निरीक्षण वा निर्देशन तथा क्यामेरा सञ्चालनसम्बन्धी अध्ययन गर्नुभएका बखतबहादुर नेपालको पहिलो सिनेमेटोग्राफरसमेत हुनुहुन्छ । वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल बखतबहादुरले नेपालको फोटोग्राफी क्षेत्रमा क्रान्ति नै ल्याइदिएको बताउनुहुन्छ । “मैले बखतबहादुरको पुस्तक पढेर फोटोग्राफीका बारेमा धेरै सिक्ने र बुझ्नै मौका पाएँ”, उहाँ भन्नुहुन्छ ।
नेपाल सरकारको ३५ वर्ष लामो निजामती सेवा गरी सहसचिवबाट अवकाशप्राप्त उहाँका ‘फोटोग्राफी’ ९२०४३० र ‘नयाँ नेपालको समावेशी धर्म’ ९२०६४० पुस्तकका साथै ‘शिक्षक’ र ‘गाउँ विकासमा प्रौढ शिक्षा’ शीर्षकका वृत्तचित्र पनि प्रकाशनमा रहेका छन् । थेरवाद बौद्ध दायक केन्द्रीय परिषद्का उपाध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति बौद्ध धर्मको प्रचार–प्रसारमा स्व बखतबहादुरको ठूलो योगदान रहेको बताउनुहुन्छ ।
साहित्यकार एवं समाजसेवी भारती सिलवाल गिरी स्व बखतबहादुरको स्मृति ग्रन्थ नयाँ पुस्ताका लागि मार्गदर्शन बन्ने बताउनुहुन्छ । “बखतबहादुरले गरेका योगदानलाई नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ”, उहाँ भन्नुहुन्छ ।
स्व बखतबहादुरका छोरा रवि, शशि र छोरी भावनाले नौ दशक लामो जीवनमा बुबाले पाउनुभएको ज्ञान, सीप, सिकाइ र अनुभवलाई नयाँ पुस्तासम्म लैजाने योजनाका साथ पुस्तक प्रकाशनमा ल्याइएको बताउनुभयो । तीन सय ७२ पृष्ठ लामो उक्त पुस्तकमा विभिन्न राजनीतिक दलका नेता र उहाँ निकट रहेका विभिन्न व्यक्तिले स्व बखतबहादुरका बारेमा आफ्नो अनुभवबारे लेख्नुभएको छ ।रासस