जुम्लामा वडाबाटै नुन वितरण गरिँदै

जुम्लाका नागरिकले नुन वितरण सहज नभएको भन्दै गत असार ३१ गते डिपो कार्यालयमा तोडफोड गरेपछि साल्ट ट्रेडिङ कार्यालय जुम्लाले यहाँका आठवटै स्थानीय तहको वडास्तरबाटै नुन वितरण गर्ने भएको छ ।

जुम्लामा वडाबाटै नुन वितरण गरिँदै

काठमाडौं । जुम्लाका नागरिकले नुन वितरण सहज नभएको भन्दै गत असार ३१ गते डिपो कार्यालयमा तोडफोड गरेपछि साल्ट ट्रेडिङ कार्यालय जुम्लाले यहाँका आठवटै स्थानीय तहको वडास्तरबाटै नुन वितरण गर्ने भएको छ ।

स्थानीय प्रशासनले नुनको व्यवस्थापन प्रभावकारी बनाउन वडाबाट वितरण हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो ।

डिपो कार्यालयमा तोडफोड भएको घटनाका विषयमा नेपाल साल्ट ट्रेडिङ कार्यालयलाई सत्यतथ्य छानबिन गर्न अनुरोधसमेत गरिएको छ । थप नुनको प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन दिएको प्रजिअ घिमिरेको भनाइ छ ।

यो भन्दा पहिला पनि वडामा पठाउने निर्णयलाई कार्यान्वयन गरी वडावाटै वितरण गर्दा उपझोक्ता डिपो कार्यालयमै आउनु नपर्ने र आवश्यकतानुसार नुन वडामै पठाउने तयारी थालिएको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले बताउनुभयो ।

स्थानीय तहको वडापालिकाको समन्वयमा एक वडालाई बढीमा १० क्विन्टल नुन वडामै केही सातापछि पठाइने भएको छ । कार्यालय प्रमुख मल्लले भन्नुभयो, “अहिले डिपो कार्यालयमा आठ सय २१ क्विन्टल र अरु दुई बिक्री केन्द्रमा क्रमशः पाँच सय ५० र तीन सय ५० किलो नुन मौज्दात रहेको छ ।”  गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले नुन अभाव नहुने कार्यालय प्रमुख मल्लको भनाइ छ । 
 
जिल्लाको सिञ्जा क्षेत्रमा पर्ने हिमा, कनकासुन्दरी र सिञ्जा  गाउँपालिकाको नराकोटबाटै नुन वितरण हुने गरेको छ ।  हाल जिल्लाको सदरमुकाम खलङ्गामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालयबाट चन्दननाथ नगरपालिका, पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई  नुन वितरण गरिँदै आएको साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ ।

पातारासी गाउँपालिकामा नुनको डिपो आवश्यकता रहेको भन्दै विभिन्न चरणमा माग राख्दै आए पनि कार्यान्वयन हुन नसकेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । डिपो विस्तारका लागि पालिकाले पटक–पटक पहल गरे पनि सुनुवाइ हुनसकेको छैन । जिल्लास्तरबाट माथिल्लो निकायसम्म सो विषयबारे पुगे पनि कार्यान्वयन हुन नसकेको पातारासी गाउँपालिकाले जनाएको छ ।  अहिले पनि जुम्ला सदरमुकाममा रहेको डिपो, नराकोट र गोरुचौर डिपोमा नुन मौज्दात रहेको कार्यालयले जनाएको छ ।
 
नुन नपाएपछि स्थानीयवासीले डिपो कार्यालयमा ढुङ्गामुढा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जुम्लामा नुनको कमी हुन नदिन सोमबारमात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय नेपालगन्जका प्रमुख महेश चौधरीले जानकारी दिनुभयो ।  रासस

खबरपाटी
खबरपाटी