काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले साहित्यकार र कलाकार मुलुकको गौरव भएको धारणा राख्नुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका उपलक्ष्यमा भानुकला केन्द्र विराटनगरद्वारा आज यहाँ आयोजित बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा समावेशी बहुजातीय सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले कलाकार र स्रष्टालाई केन्द्रले प्रत्येक वर्ष सम्मान गर्ने गरेकामा खुसी व्यक्त गर्नुभयो ।
उहाँले यस संस्थाले बहुजाति, बहुभाषी बसोबास रहेको यस क्षेत्रमा समावेशी कार्यक्रमको आयोजना गर्नु मुलुक सुहाउँदो भएको प्रतिक्रिया दिनुभयो । सो अवसरमा उहाँले साहित्यकार हरिप्रसाद बराल र पत्रकार तारा आचार्यलाई सम्मान गर्नुभएको थियो ।
केन्द्रकी अध्यक्ष माया पौडेल आशावादी, साहित्यकार दधिराज सुवेदीले आदिकवि भानुभक्त आचार्यको जीवनीमाथि प्रकाश पार्नुका साथै कवि तथा कलाकारले विभिन्न भाषाका कविता वाचन र नृत्य प्रस्तुत गर्नुभएको थियो ।रासस