सूचनाको हकका लागि समुदाय जागरण अभियान

सूचनाको हकका लागि ‘समुदाय जागरण अभियान’ सुरु भएको छ ।

सूचनाको हकका लागि समुदाय जागरण अभियान

काठमाडौं । सूचनाको हकका लागि ‘समुदाय जागरण अभियान’ सुरु भएको छ । राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँ र काठमाडौँ उपत्यका प्रदेश समितिको संयुक्त आयोजनामा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट अभियान सुरु भएको हो ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकबाट सुरु भएको समुदाय जागरण प्रभातफेरी पुरानो अरब बैंक बौद्ध पीपलबोट हुँदै बौद्धनाथ स्तूप परिसरमा आएर समापन भएको थियो । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘कोसँग माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले पछिल्लो समय बढिरहेको भ्रष्टाचार, घूसखोरी र योजना सञ्चालनका क्रममा हुने गरेको मिलमतो एवं अनियमितता अन्त्य गर्न सूचनाको हक प्रभावकारी साधन हुने बताउनुभयो । यसका लागि सचेत नागरिकले सूचनाको हकको अभ्यास गर्नु जरुरी रहेको उहाँको भनाइ थियो । 

महासङ्घका काठमाडौँ उपत्यका प्रदेश समितिका अध्यक्ष ताराबहादुर भण्डारीले महिलालाई राज्यले दिएका आरक्षण एवं सहुलियतका विषयमा सूचना माग गरेर राज्यका निकायलाई जिम्मेवार र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । महासङ्घका काठमाडौँ अध्यक्ष पूर्णप्रसाद मिश्रले जिल्लाका गल्ली–गल्लीमा समुदाय जागरण कार्यक्रम गरिने प्रतिबद्धता जनाउनुभयो । काठमाडौँमा सुशासनका लागि सूचनाको हक अभियान चलाइने उहाँको भनाइ थियो । 

महासङ्घका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक भीम लामाले कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता जुटेको बताउनुहुँदै यस्ता कार्यक्रमले सूचनाको हकको अभ्यासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अगामी शनिबार पशुपति क्षेत्रमा ‘समुदाय जागरण कार्यक्रम’ आयोजना गरिने जिल्ला कार्य समिति काठमाडौँले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले भ्रष्टाचार एवं अनियमितताको अन्त्यका लागि सूचनाको हक उपयोगी साधन रहेकामा जोड दिनुभयो । महासङ्घले महिलालाई पनि सूचनाको हकका क्षेत्रमा अघि बढाइनुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा आचार्य थुप्तेन तामाङ र कर्मा योञ्जनले बौद्ध विधिअनुसार मन्त्रोच्चारण गर्नुभएको थियो । प्रभातफेरीमा तराना, शुभ बिहानी, शिखर महिला समूह र क्रियटिभ फोहरमैला प्रालिको सहभागिता थियो । सो अवसरमा गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा नं ६ का अध्यक्ष नवराज लामा र काठमाडौँ महानगरपालिका वडा नं ६  का अध्यक्ष भीम लामालगायत जनप्रतिनिधिको पनि सहभागिता थियो ।  रासस

खबरपाटी
खबरपाटी