काठमाडौँ । मिडिया एकेडेमी नेपालको आयोजनामा सञ्चालन भइरहेको हवाई तथा मौसमसँग सम्बन्धी तालिम जारी रहेको छ । हवाई तथा मौसमका विषयमा पत्रकारहरूमा देखिएको अस्पष्टतालाई परास्त गर्ने योजनाका साथ आयोजना गरिएको सो तालिममा ६२ जना सञ्चारकर्मीहरू सहभागी रहेको मिडिया एकेडेमी नेपालका निर्देशक डम्बर शाहुले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरण, प्रेस काउन्सिल नेपाल र वायु सेवा सञ्चालक संघको सहकार्यमा मिडिया एकेडेमी नेपालले आयोजना गरेको सो तालिम आइतबारदेखि सुरु भएको हो । अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष तथा क्याप्टेन रामेश्वर थापाको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रमको पहिलो दिन जहाजको उद विकासका बारेमा नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जय कुमारले प्रशिक्षण गरेका थिए ।
त्यस्तै कार्यक्रमको दोस्रो दिन पाइलट विनोद पुरिले जहाजको बनावट र विशेषताबारे प्रशिक्षण गरेका थिए । सोही दिन दोस्रो सत्रमा नागरिक उड्डयन प्राधिकरणका सेफ्टि साखा प्रमुख राजु श्रेष्ठले जहाजको सुरक्षाबारे प्रशिक्षण गरेका थिए ।
कार्यक्रमको तेस्रो दिन हवाई क्षेत्रका विज्ञका रूपमा परिचित मेहेन्द्र कुमार श्रेष्ठले जहाजलाई कसरी सुरक्षित राख्ने र के के कारणले जहाज दुर्घटना हुन्छ भन्ने शीर्षकमा प्रशिक्षण गरेका थिए । त्यस्तै भने सोही दिनको दोस्रो सत्रमा उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जय कुमारले जहाजको राष्ट्रिय अन्तर्राष्ट्रिय नियमन संस्थाहरूको विषयमा प्रशिक्षण गरेका थिए । तालिम थप ४ दिन सञ्चालनमा रहने छ ।
मिडिया एकेडेमी नेपालले मिडिया सम्बन्धी विभिन्न कार्यशाला, गोष्ठी, प्रदर्शनी र खोज अनुसन्धानका कामहरू गर्दै आइरहेको छ । सन २०१७ मा सुरु भएको एकेडेमीले हाल सम्म ४७२ जना व्यक्तिहरूलाई सफलता पूर्वक विभिन्न तालिम दिई रोजगारीको अवसर पनि जुटाई दिएको छ । २०१९ मा भृकुटीमण्डपमा पहिलो पटक दक्षिण एसियाली मिडिया प्रदर्शनी तथा सम्मेलनको आयोजना गरेको मिडिया एकेडेमीले नपाली मिडिया र पत्रकारहरूलाई सिक्ने, सिकाउने अवसर प्रदान गरेको छ ।
मिडिया एकेडेमी नेपालले सञ्चार क्षेत्रसँग सम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको छ जसमा टेलिभिजन रिपोर्टिङ, समाचार लेखन, क्यामेरा, न्युज एडिटिंग, टेलिभिजन समाचार वाचन, आदि रहेका छन् । मिडिया एकेडेमी नेपालले बिट पत्रकारिताबारे तालिम पनि सुचारु गरेको छ । मिडिया एकेडेमी नेपालले हवाई क्षेत्र र मौसमसँग सम्बन्धित क्षेत्रमा कलम चलाउने पत्रकारहरूका लागि पहिलो तालिम दिँदै बिट पत्रकारिताको तालिमलाई सुचारु गरेको हो । मिडिया एकेडेमी नेपालले पत्रकारहरूलाई विषय विज्ञताबारे दक्ष बनाउनको लागि विभिन्न कार्यशाला, तालिम र कार्यक्रमहरू गर्दै आएको छ ।