बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न समयमा समूह बनाएर मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, रामग्राम नपा–१४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा–५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठाउँकै २६ वर्षीय दीपक रेगामी, तिलोत्तमा–६ का २४ वर्षीय दीपेश थापा र तिलोत्तमा–६ का २५ वर्षीय हितेश राना रहेका छन् । 

तिलोत्तमा–४ का १८ वर्षीय आकाश नेपाली, बाग्लुङ, वरेङ गाउँपलिका–५ सुखौराका १९ वर्षीय आशिष सामत, सोही ठाउँकै वर्षीय दीपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा र २२ वर्षीय मिलन खत्री पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

मोटरसाइकल चोरी गर्ने र पार्टपुर्जा बिक्री वितरणमा संलग्नलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय चोरीका घटना अत्यधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोली नै गठन गरेर उनीहरूलाई विभिन्न जिल्लाबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू उपर चोरीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले आज आयोजित पत्रकार सम्मेलनमा फेला पारिएका १४ वटा मोटरसाइकलसमेत सार्वजनिक गरेको छ । भेटिएका मोटरसाइकल सवारीधनीलाई खोजी गरी जिम्मा लगाउने काम भइरहेको प्रनाउ थापाले बताउनुभयो ।  रासस

खबरपाटी
खबरपाटी