विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु

कालीकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्री महादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले अधिकांश विद्यार्थी बिरामी भएका छन् ।

विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु

काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्री महादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले अधिकांश विद्यार्थी बिरामी भएका छन् ।
 
सामान्य रोग होला भनेर केही बेवास्ता गर्दा विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापाको बुधबार ज्यान गएको र हाल विद्यालय विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक भद्रबहादुर सिंहले जानकारी दिनुभयो । “हामीले जिल्ला अस्पताल कालीकोट र नगर अस्पताललाई पनि खबर गरेका छौँ”, उहाँले भन्नुभयो, “दुई जना विद्यार्थीको स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र एक जना विद्यार्थीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।”

विद्यालयमा कक्षा ११ सम्म पढाइ हुने गरेको र तीन सय २७ विद्यार्थी अध्ययन रहेकामा तीमध्ये एक सय ३० विद्यार्थी बिरामी रहेको सहप्रधानाध्यापक धर्मचन्द्र कोइरालाले जानकारी दिनुभयो । “केही समयदेखि विद्यार्थीमा अनुहार सुनिने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ”, उहाँले भन्नुभयो, “धेरै विद्यार्थी बिरामी भएकाले महामारीको रूप हुनसक्छ भनेर अहिले विद्यालय बन्द गर्ने कि के गर्ने भन्नेमा छौँ ।”

विद्यालयमा देखिएको अज्ञात रोगका विषयमा गम्भीररूपमा लिँदै नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्कप्रसाद आचार्यसहितको टोलीलाई विद्यालयमा जान भनेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिनुभयो । “अज्ञात रोग फैलिएको आज भर्खरमात्र थाहा भयो”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा पठाएका छौँ ।” रासस

खबरपाटी
खबरपाटी