काठमाडौं । प्रदूषित बनेको वीरगञ्जस्थित सिर्सिया नदी किनारमा वीरगञ्ज महानगरपालिकाले वृक्षरोपण सुरु गरेको छ ।
नदी संरक्षणका साथै सरसफाइका लागि नदीको किनारमा महानगरले वृक्षरोपण सुरु गरेको हो । नदीको दुवै किनारामा वृक्षरोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले नदी कटानबाट पनि बचाउने हुँदा नेपाल–भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षरोपण सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति ९कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुर चितवन० र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरपालिकाले नदी किनारमा उन्नत जातका बाँस ९चाप र हरौट० रोप्ने कार्य आजदेखि सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
वर्षाको समयमा आउने बाढीले सिर्सिया नदी कटान गर्नुका साथै यस क्षेत्रमा डुबानको समस्या निम्त्याउने गरेको छ । बाँस हुर्किएपछि नदी संरक्षण हुनुका साथै कटान पनि नियन्त्रणमा आउने महानगरका सरसफाइ प्रमुख सर्फुद्दिन मियाँले बताउनुभयो ।
महानगरले नदी सफाइका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न कडाइ गर्नुका साथै नदी फोहर गर्नेलाई कारबाही गर्दै आएको छ । नदीको दुवैतर्फ किनारमा वृक्षरोपण गर्दा नदी कटान रोकिने मात्रै नभई पर्यावरण संरक्षणमा टेवा पुग्ने महानगरले विश्वास लिएको छ । पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट निस्किने फोहर पानीका कारण सिर्सिया नदी प्रदूषित बन्दै गएको छ । रासस