वृद्धाश्रमले गरिदियो गङ्गाकुमारीको चौरासी पूजा

वृद्धाश्रममा बस्दै आउनुभएकी गङ्गाकुमारीको चौरासी पूजा वृद्धाश्रमले गरिदिएको छ ।

वृद्धाश्रमले गरिदियो गङ्गाकुमारीको चौरासी पूजा

काठमाडौं । वृद्धाश्रममा बस्दै आउनुभएकी गङ्गाकुमारीको चौरासी पूजा वृद्धाश्रमले गरिदिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा रहेको शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाले पर्वत पैंयूकी गङ्गाकुमारी क्षेत्रीको आज गुरु पूर्णिमाका दिन चौरासी पूजा गरिदिएको हो ।

घर परिवारका सदस्य कोही पनि नभएपछि विगत सात वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएकी आमाको संस्थाले विधिपूर्वक चौरासी पूजा गरेको कर्ता एवं संस्थाका अध्यक्ष कविता तिवारी गैरेले बताउनुभयो । “परिवारविहीन हुनुभएकी आमा लामो समयदेखि वृद्धाश्रममा बस्दै आउनुभएको थियो, उहाँ आफ्नै परिवारकै सदस्य जस्तो हुनुभयो”, उहाँले भन्नुभयो, “वृद्धवृद्धा समाजका गहना र अभिभावकसमेत भएकाले सम्मानस्वरूप विधिपूर्वक पूजा गरिदिएका हौँ ।”

वृद्धाश्रममा बस्दै आउनुभएकी आमालाई छोराछोरीले गरिदिने कर्म पूरा गरेको उहाँले बताउनुभयो । “जो कोहीको चौरासी पूजा गर्न सकिँदैन र पाइँदैन पनि”, उहाँले भन्नुभयो, “यो हाम्रा लागि एउटा अवसर हो, पुण्य कर्म पनि हो ।” वृद्धा क्षेत्रीको तुलादान गर्दाको रकम रामनदीधाम संस्कृत गुरुकुलममा सहयोग गरिएको छ । 

आफ्नो घर परिवारका सदस्य कोही पनि नभएपछि सात वर्ष अघिदेखि वृद्धाश्रमको साहारामा जीवन बिताउँदै आएको वृद्ध क्षेत्रीले बताउनुभयो । “छोराछोरी भएनन्, श्रीमान्को मृत्यु भएपछि वृद्धाश्रममा आएर बस्न थालेँ”, क्षेत्रीले भन्नुभयो, “वृद्धाश्रम सञ्चालन गर्ने समिति अनि वृद्धाश्रममा बस्ने वृद्धवृद्धा सबै आफ्नै परिवार जस्तै लाग्न थाल्यो, एक्लोपनको महसुस भुल्दै गएँ ।” उहाँले चौरासी पूजा गर्ने आफ्नो इच्छा वृद्धाश्रमले पूरा गरिदिएकोमा खुसी लागेको बताउनुभयो । “आफ्नो कोही नहुँदा पनि वृद्धाश्रमले आफ्नै परिवारभित्रको सदस्य ठानेर पूजाआजा गरिदिएको छ, यसलाई कसरी बयान गरुँ खोई रु”, उहाँले भन्नुभयो ।

वृद्धाश्रममा हाल विभिन्न जिल्लाका २२ जना वृद्धवृद्धा बस्दै आउनुभएको छ । स्याङ्जाको वालिङ–१० भकुण्डेमा प्रधान कार्यालय रहेको शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाले रामनदीधाममा वृद्धाश्रम सञ्चालनमा ल्याएको छ ।  रासस

खबरपाटी
खबरपाटी