विषादीको दुरुपयोग रोक्न खेतबारीदेखि पसल र कृषि बजारमा अनुगमन

किसानले उत्पादन गर्ने तरकारीलगायत नगदेबालीमा प्रयोग हुँदै आएको विषादीको दुरुपयोग रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको टोली खेतबारीदेखि विषादी पसल र कृषि बजारमा पुगेको छ ।

विषादीको दुरुपयोग रोक्न खेतबारीदेखि पसल र कृषि बजारमा अनुगमन

 
काठमाडौं । किसानले उत्पादन गर्ने तरकारीलगायत नगदेबालीमा प्रयोग हुँदै आएको विषादीको दुरुपयोग रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको टोली खेतबारीदेखि विषादी पसल र कृषि बजारमा पुगेको छ ।

जिल्लाका खेतबारीमा किसानले कसरी विषादीको प्रयोग गरिरहेका छन्, तरकारी एवं नगदेबालीमा प्रयोग गरिने विषादीको अवस्था कस्तो छ, तालिम प्राप्त कृषि फार्म सञ्चालकले विषादीको प्रयोग सहीरुपमा गरेका छन्, कि छैनन्, विषादी बिक्री गर्ने पसलहरुको अवस्था कस्तो छ, कृषि बजारमा विषादी प्रयोग भएका तरकारी आएका छन् कि छैनन् भन्ने बारेमा जानकारी लिन आकस्मिक रुपमा अनुगमन गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।

कृषिविज्ञ सहितको टोली लिएर सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित कृषि फार्महरुमा पुग्नुभएका प्रजिअ रिजालले भन्नुभयो, “हामीले कृषि फार्म सञ्चालन गर्ने कृषकदेखि तरकारी उत्पादन गर्दै आएका किसान र मजदुरहरुलाई विषादीको प्रयोगबारे तालिम दिएका थियौँ, तालिम लिएका किसान र मजदुरहरुले तरकारीमा विषादीको प्रयोग कसरी गरिरहेका छन्, विषादी प्रयोग गरेको कति दिनमा टिपेर बजार लगेका छन् भन्ने जानकारी लिन खेतबारीमै पुगेर किसानलाई भेटेर अनुगमन गरेका हौँ ।”
    
विषादीको दुरुपयोग नगर्नरनगराउन किसान, फार्म सञ्चालनहरुलाई सचेत बनाएको बताउँदै उहाँले कृषि फार्महरुलाई उपभोक्ताको स्वास्थ्यप्रति उत्तरदायी बनाउन अनुगमनलाई तीव्र बनाइएको बताउनुभयो । तरकारी लगायतका नगदेबाली उत्पादनको सुरु अवस्थादेखि नै विषादी प्रयोग गरिएका रेकर्ड पुस्तिका बनाएर टिपेर राख्न निर्देशन दिँदै उहाँले विषादीको बोतल वा प्याकेटमा दिइएको सङ्केत त्यहाँ दिएको निर्देशनअनुसार प्रयोग गर्न र प्रयोग गरेपछि फल टिप्न पर्खनुपर्ने समयका बारेमा फार्ममा काम गर्ने मजदुरसमेत जानकार हुनुपर्ने औँल्याउनुभएको थियो । 

प्रजिअ रिजाल नेतृत्वको अनुगमन टोलीले जगातीस्थित विषादी बेच्ने पसलहरुको अनुगमन गरेको थियो । पसलमा विषादी जथाभावी खुला नराख्न र जथाभावी बिक्री नगर्न उहाँले निर्देशन दिनुभयो । विषादी किन्ने किसान वा फार्मको रेकर्ड राख्न, बढी विषादी खपत गर्नेहरुको विवरण जिप्रकामा पठाउनसमेत उहाँले निर्देशन दिनुभयो । 

प्रजिअ रिजालले विषादीको बिक्री गर्दा यसको प्रयोग गर्ने तरिका, यसको असर र प्रभावबारे किसानलाई स्पष्ट पार्न बिक्रेतालाई निर्देशन दिनुभभयो । त्यस्तै, अनुगमन टोलीले आदर्शस्थित हरित कृषि थोक बजारको समेत अनुगमन गरी तरकारीमा विषादीको प्रयोग भएरनभएको र त्यसको अवस्थाबारे तरकारी बिक्रेताले समेत थाहा पाउनुपर्ने बताउनुभएको थियो । रासस

खबरपाटी
खबरपाटी