काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकमा नेपाली श्रमिक जान पाउनुपर्ने बताउनुभएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकहरूसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरू जान पाउनुपर्ने मान्यताका साथ सरकारले काम गरिरहेको बताउनुभएको हो ।
“पछिल्लो समय धेरै देशमा नेपाली कामदार जान नपाउने व्यवस्था गरिएको छ, अब सरकारले दौत्य सम्बन्ध भएका देशमा श्रम सम्झौता गरी श्रमिकहरू जान पाउनुपर्ने मान्यताअनुसार काम गर्न लागेको छ”, उहाँले भन्नुभयो ।
उहाँले घरेलु कामदारका विषयमा धेरै कुराहरू उठेको भन्दै वैदेशिक रोजगारीमा जाने घरेलु कामदारलाई कसरी सुरक्षित बनाउने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री भण्डारीले म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूसँग लिने १० हजार सेवा शुल्कका बारेमा सरकारले छानबिन गर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्ने बाटोमा सरकार लागेको बताउनुभयो । नेपालबाट अब बिना सीपको श्रम शक्ति नपठाउने अठोट सरकारले लिनुपर्ने अवस्था आएको मन्त्री भण्डारीले बताउनुभयो । विदेशमा नेपालबाट पठाउने श्रमिकलाई केही न केही सीप सिकाएर मात्रै पठाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
मन्त्री भण्डारीले दक्ष र सीप भएका नेपाली श्रमिक वैदेशिक रोजगारीमा पठाउने विषयमा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने स्पष्ट पार्नुभयो । सरकारले कुनै पनि देशसँग हुने श्रम सम्झौताको विषयमा कानून, प्रणाली र सामाजिक सुरक्षालाई मध्यनजर राख्नुपर्ने उहाँको भनाइ थियो । रासस