काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्टइण्डिजसँग नेपाल पराजित भएको छ । दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट्र वेष्टइण्डिजसँग नेपाल १०१ रनले पराजित भएको हो । जिम्बाबेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो ।
२८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।
ओपनर कुशल भुर्तेल ५ रनमा र तेस्रो क्रममा आएका भीम सार्की २ रनमा आउट भएपछि अर्का ओपनर ब्याटर आसिफ शेख र कप्तान रोहित पौडेलले नेपाली इनिङस केही सम्हालिन खोजेका थिए । तर कुशल ३६ बल खेल्दै ३ चौका सहित २८ रनमा आउट भए । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौका सहित ३० रन जोडे ।
सातौं ब्याटर दिपेन्द्र सिंह ऐरी क्रिजमा आक्रमक देखिए । उनले २४।६ ओभरमा एकेल होसिनको बलमा लामो छक्का प्रहार गर्दै मिडिया बक्सको सिसा फुटाएका थिए । तर उनी पनि २३ रनमा आउट भए ।
नेपालको ८ विकेट गुमेपछि ब्याटिङमा आएका करण केसीले १ छक्का र ४ चौकासहित नट आउट २८ रन बनाए पनि हारको अन्तर १०० भन्दा कम बनाउन सकेनन् । अन्तिम नम्बरमा ब्याटिङमा आएका ललित पहिलो बलमै डक आउट भए ।
सन्दीप लामिछानेले १ तथा कुशल मल्लले २ रन बनाए ।
त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले ।