गगन थापाले रेशमलाल चौधरीलाई सरकारले दिएको आममाफीबारे खरो आलोचना

गगन थापाले  रेशमलाल चौधरीलाई सरकारले दिएको आममाफीबारे खरो आलोचना

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सरकारले दिएको आममाफीबारे खरो आलोचना गरेका छन्।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले रेशमलाई यसरी माफी दिइनु राजाको शासन नभएको बताए।


उनले भने, ‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ। हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइ गरेर हामी कुनै निर्णय गछौँ।’

नेता थापाले अदालतको आदेशलाई हेपेको पनि बताए।

‘हामीले हतार(हतार निर्णय गछौँ। हामीले अदालतलाई हेप्यौँ। हामीले जे गरे पनि हुन्छ भन्यौँ’, उनले भने।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका छन्।

रेशम आजै बिहान जेलमुक्त भएका हुन्।

टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई उनले जेल जीवन बिताइरहेका थिए।

खबरपाटी
खबरपाटी