काठमाडौं । सरकारले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप सुदृढ तुल्याउन सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नीति अवलम्बन गर्ने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आव २०८०र८१ को बजेट प्रस्तुत गर्दै परराष्ट्र मामिलाका सन्दर्भमा सरकारको स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध अवलम्बन गर्ने नीति रहेको स्पष्ट गर्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनसँगको साझेदारी र सहकार्यलाई प्रभावकारी बनाउने, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न तथा समसामयिक विषयमा नीति निर्माण गर्न सघाउ पु¥याउने उद्देश्यले सगरमाथा संवाद र प्रोफेसर यदुनाथ खनाल प्रवचन शृङ्खला आयोजना गरिने बताउनुभयो ।
वैदेशिक लगानी, व्यापार सहजीकरण, पर्यटन प्रवर्द्धन, विकास सहायता परिचालन, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा आर्थिक कूटनीति परिचालन गरिने र विदेशस्थित कूटनीतिक नियोगको सङ्ख्या पुनरावलोकन गरिने आज सार्वजनिक बजेट वक्तव्यमा उल्लेख छ । रासस