ओलीका स्वकीय सचिवको स्पष्टीकरण : नक्कली शरणार्थी मैले बुझेको विषय होइन

ओलीका स्वकीय सचिवको स्पष्टीकरण : नक्कली शरणार्थी मैले बुझेको विषय होइन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम पोल्ने केशव दुलाललाई चिन्दै नचिनेको बताएका छन् । 

उक्त प्रकरणमा कांग्रेस नेतासमेत रहेका दुलालले बालुवाटारमै पुगेर एक करोड दिएको बयान दिएको प्रसंगमा बज्राचार्यले त्यसलाई गलत भनेका हुन् । 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले मेरो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन। चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन।’

बज्राचार्यले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा आफूलाई थाहा नभएको विषय भनेका छन्।

‘यो मैले बुझेको विषय पनि होइन’, उनले भनेका छन्, ‘मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाइएको बयानका आधारमा मेरो चरित्रहत्या हुनेगरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चारमाध्यमलाई अनुरोध गर्दछु।’ 

खबरपाटी
खबरपाटी