काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ।सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्नत आरोपीविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ ।
प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।
अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा सरकारी वकिलको कार्यालय अघि बढ्ने उनको भनाइ छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ । प्रहरी अनुसन्धानमा के देखियो,आधार प्रमाणहरु के हुन् । को–को विरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो । कस्तो अपराध हो । कति कसुर वा बिगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन् । हामी सुरुवातमा मुद्दाको अनुसन्धानको विश्लेषण गर्छौं । आधार प्रमाणहरु हेर्छौं’, उनले सञ्चारकर्मीहरुसँग भने, ‘यो आधारमा हामी निर्णय गर्छौं । ’
उनले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताए । ‘अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौं । पक्राउ परेकाहरुलाई ठगि र संगठित अपराध र राज्य विरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ ,’ उनले भने ।