काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न लामिछानेले आज बिहान साढे ८ बजे बालुवाटार पुगेका हुन् ।
भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिदै सरकारले गरेको राम्रो कामलाई पार्टीले सहयोग गर्ने बताएका छन् ।
स्रोतका अनुसार जवाफमा प्रधानमन्त्रीले अरू पनि धेरैका फाइल खोल्दै जाने बताउँदै लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए । भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्याउनसमेत लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
यसमा सभापति लामिछानेले आफू सरकारमा नभए पनि भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको कदममा सडकबाटै साथ दिने बताएका थिए ।
लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वपाले वैशाख २२ गते मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।