काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । बारा– २ को उपनिर्वाचनमा पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको मधेश प्रदेशका एमाले प्रदेश सह–इन्चार्ज अच्युत मैनालीले बताए ।
पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने तयारी गरेको छ । बारा २ मा रास्वपा बाट रमेश खरेल, सत्ता गठबनधनबाट साझा उम्मेदवार जसपा का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने भएको छ ।
गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।
बैशाख १० मा तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन हुँदैछ । एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको थियो ।
कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय छ ।
रास्वपाले चितवन–२ मा सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ– १ मा स्वर्णिम वाग्लेलाई टिकट दिएको छ ।
राप्रपाले चितवन– २ मा जीवलाल पुरी, बारा– २ मा सोनेलाल साह र तनहुँ– १ मा शोभा गुरुङलाई उम्मेदवार बनाएको छ ।