सुशासनसहितको सहकारी निर्माणमा जोड

पोखरा महानगरपालिका सहकारी शाखाद्वारा आयोजित ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठी

सुशासनसहितको सहकारी निर्माणमा जोड

काठमाडौं । पोखरा महानगरपालिका सहकारी शाखाद्वारा आयोजित ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठीले सुशासनसहितको उत्कृष्ट, गुणस्तरीय, दिगो र नीतिगत सर्वोच्चता भएको सहकारी निर्माण गर्नुपर्नेमा जोड दिएको छ । ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने नाराका ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यशालाले ११ बुँदे निष्कर्षसहित समयानुकुल आधुनिक प्रविधिको समुचित प्रयोग गर्न र सञ्चालक तथा कर्मचारीलाई दक्ष बनाउन समयसमयमा विषयगत तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

दिगो सहकारी निर्माणका लागि अल्पकालीन र दीर्घकालीन रणनीतिक योजनामार्फत विद्यमान तरलता अभावलगायतको निराकरण गर्नुपर्ने भन्दै कार्यशालाले सदस्यतामा सङ्ख्यात्मकभन्दा गुणात्मक तवरले वृद्धि गर्नुपर्ने र सदस्य ग्राहक नभई मालिक बन्नुपनेमा जोड दिएको छ । 
       
नियमित सदस्यको राय, सल्लाह तथा सुझावको ग्रहण गर्ने र क्रमिकरुपमा कार्यान्वयन गर्ने संयन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै सञ्चालक र कर्मचारीको छुट्टाछुट्टै भुमिकाको पहिचान, मूल्याङ्कन र स्वमूल्याङ्कन गरी कमजोर पक्षलाई योजनावद्ध सवल र सक्षम बनाइ सहकारीको सु–सञ्चालन गर्नुपर्ने भनिएको छ । नियामक निकायले निरन्तर सहकारीका समग्र गतिविधिको प्रारम्भिक अनुगमन गरी आवश्यकताअनुसार सघन अनुगमनको व्यवस्थामार्फत सहकारी ऐन नियमअनुसार सञ्चालन गराउनुपर्ने निष्कर्षमा उल्लेख छ ।     

तरलता व्यवस्थापन र ऋण असुलीलाई प्रभावकारी बनाउन सर्वप्रथम नेतृत्व र एकाघर परिवारमा भएको खराव कर्जा असुली गर्नु गराउनुपर्ने जनाइएको छ । सहकारी अभियानविरुद्ध भइरहेको आक्रमणलाई निस्तेज पार्न सबै सहकारी सङ्घ, संस्था र नियामक निकाय प्रतिवद्ध हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।                     

सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गरी सदस्यलाई निरन्तर सहकारी शिक्षा प्रदान गर्दै संस्थाप्रति प्रेमभावको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ । सहकारीलाई उत्पादनसँग जोडेर एक सहकारी एक उत्पादन कार्यक्रमलाई सार्थक बनाउनुपर्ने भनिएको छ ।    
          
कार्यशालामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहकारी क्षेत्रको समस्यालाई अवसरको रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले समस्यासँगै नयाँ नीति तथा कानुन बन्ने र समस्यासँग जुध्ने क्षमताको विकास हुने बताउनु भयो । अहिलेको मुख्य समस्या खराब नियत भएकाले सहकारी सञ्चालन गरेको, बढी ब्याजको प्रलोभन देखाएर सदस्य ठगिने गरेको बताउँदै उहाँले त्यसो हुन नदिन सहकारी सञ्चालक, कर्मचारी र स्वयं शेयर सदस्य चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
         
सहकारी समितिका अध्यक्ष रविरमण तिवारी र नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङले कार्यपत्र प्रश्तुत गर्नुभएको थियो । त्यसमा सहकारी रजिष्ट्रारको कार्यालयका ईश्वरी ढकाल र नेफ्स्कुनकी सञ्चालक कमलादेवी गिरीले टिप्पणी गर्नुभएको थियो । जिल्ला सहकारी सङ्घ कास्कीका अध्यक्ष सावित्रा कोइराला, कास्की बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना, दुग्ध सहकारी सङ्घका अध्यक्ष पुण्यप्रसाद पौडेललगायतले सहकारी क्षेत्रका समस्या समाधान गर्दै यसलाई सर्वसाधारणले विश्वास एवं भरोसा गर्ने तवरबाट अघि बढाउनुपर्ने बताउनु भयो । रासस 

खबरपाटी
खबरपाटी