काठमाडौं । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेता झालनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा उनीहरुबीच मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भएको छ । एकीकृत समाजवादी पार्टीले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका दुई वटा मन्त्रालय दिने तयारी गरेका छन् ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुले आफ्नो अडान कायमै राखेपछि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको एक साता बित्दासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँगको भेटपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक डाकेको छ।
१२ बजेलाई बोलाइएको बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल हुने पार्टीका एक नेताले जानकारी दिए।
बैठकमा सरकारमा कोको जाने भन्ने विषयमा छलफल हुने जनाइएको छ। आजै ४ बजे सत्तारुढ गठबन्धन दलको बैठक पनि बस्दै छ । प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी गरेका छन्।