काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा सहमति नजिक पुगिसकेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले चैत ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
त्यसका लागि गठबन्धनमा दलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भइसकेको छ भने जिम्मेवारीको विषयमा ठोस सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले साझेदार दलमा आन्तरिक गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको र सोमबारसम्म नतिजा निस्कने बताए ।
प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारी गरेको सचिव पौडेलको भनाइ छ । सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । साझेदार दलका अन्य साना दललाई १/१ मन्त्रालय दिने बताइएको छ ।
सबभन्दा पेचिलो बनेको अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो भइसकेको छैन ।
माओवादी केन्द्रसँग हाल भौतिक पूर्वाधार तथा यातायात, सूचना प्रविधि तथा सञ्चार, नागरिक उड्ययन तथा पर्यटन र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय छ । पौडेलकाअनुसार भागवण्डा मिलाउने क्रममा माओवादीले हाल लिएको केही मन्त्रालय हेरफेर हुनसक्छ ।
त्यो मन्त्रालय गृह कि अर्थ भन्ने टुंगिएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफ्नो दलले लिएर कांग्रेसलाई अर्थ दिन चाहेका छन् । तर कांग्रेसबाट सरकारमा पार्टीको नेतृत्व गरेर आउन चाहेका उपसभापति पूर्णबहादुर खड्काको दाबी गृह मन्त्रालयमा छ ।
तर कांग्रेस र माओवादीमध्ये कसले गृह र कसले अर्थ मन्त्रालय लिने भन्ने टुंगिएको छैन । दुई मन्त्रालयमा माओवादीका नारायणकाजी श्रेष्ठ र कांग्रेसका पूर्णबहादुर खड्काको सम्भावना बलियो रहेको नेताहरु बताउँछन् ।
माओवादी केन्द्रले अर्थ मन्त्रालय पाउने अवस्थामा भने श्रेष्ठको मन्त्रालय हेरफेर हुने सम्भावना छ । माओवादीमा यसअघि अर्थ मन्त्रालय सम्हालेका नेतामा वर्षमान पुन र जनार्दन शर्मा हुन् । दुबै अहिले मन्त्री बन्न इच्छा देखाएका छैनन् । त्यसैले त्यस अवस्थामा श्रेष्ठले नै अर्थ मन्त्रालय सम्हाल्ने एक नेताले बताए ।
यस्तै कांग्रेसबाट उपसभापति खड्काले नै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने लगभग पक्काजस्तै भएको छ ।