विराटनगर । स्थापनाको ६ वर्षपछि प्रदेश नम्बर १ ले प्रदेशका नामकरण गरेको छ। संघीय संरचनामा निर्वाचन भएको पहिलो कार्यकालमा नाम टुंगो लगाउन नसकेको प्रदेश सभाले बुधबार अबेर बहुमतका आधारमा नाम टुंगो लगाएको हो। चार मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्ने सहमति जुटेपछि बुधबार सम्पूर्ण प्रक्रिया पूरा गरिएको हो।
प्रदेश सभाको ९३ सदस्यमा मतदानका क्रममा ८६ उपस्थित भएका थिए। प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए।
मतदानमा ६ जना अनुनस्थित रहेका छन्।
कूल सदस्य संख्याका आधारमा पक्षमा परेको मत दुई तिहाइभन्दा बढी भएकाले नाम कोशी राख्ने प्रस्ताव पारित भएको हो।
सभामा एमालेका सांसद रामबहादुर मगरले प्रदेशको नामकरण कोशीु कायम गरियोस् भनी प्रस्ताव गरेका थिए। प्रस्तावमा संखुवासभाका विदुर लिङथेप र धनकुटाका निरन राईले समर्थन गरेका छन्। लिङथेप र राई दुबै एमालेकै सांसद हुन्। झापाबाट नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले पनि प्रस्तावमा समर्थन जनाएका थिए। तर उनले समर्थन फिर्ता लिएका छन्।
उक्त प्रस्तावप्रति असहमति जनाउँदै नेकपा (एकीकृत समाजवादी) का सांसद एवम् पूर्वमुख्यमन्त्री राजेन्द्र राई र जनता समाजवादीकी सांसद एवम् प्रदेश स्वास्थ्य मन्त्री निर्मला लिम्बुले अर्को प्रस्ताव दर्ता गरेका थिए। राई र लिम्बूले किराँत,लिम्बुवान् सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए।