आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

काठमाडौं । नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा भएको चिकित्सकमाथिको प्रहरीले गरेको लाठीचार्जको घटनाबाट गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले आज एक विज्ञप्ति जारी गरी माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘२०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा। जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथी प्रहरीले लाठ्ठी चार्ज गरी घाईते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भिभिआईपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाईते बनाइएकोप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ ।

आम सर्वसाधारण नागरिकहरुको भावना र मर्म अनुसार नेपाल चिकित्सक संघ सकारात्मक परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै नेपाली नागरिकहरुकै शासनको रुपमा रहने लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बाहानामा दुःख, सास्ती र अशोभनीय कार्य सदाका लागि बन्द गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार तथा सरोकारवाला निकायमा जोडदार माग गर्दछ ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भिभिआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत् भनिएको छ । 

खबरपाटी
खबरपाटी