काठमाडौं - सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई १५८ रन बनाउँदै पूरा गर्यो। सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले मात्र ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गरे। मुन्सेको स्ट्राइक रेट २३१.४८ रह्यो।
अर्का ओपनर विनोद भण्डारीले पनि अविजित ३० रनको योगदान दिए। उनले २७ बलमा ३ चौका प्रहार गरे। दुवै ओपनरले पहिलो विकेटका लागि अविजित १५८ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, डी'आर्सी शर्टले २१ र अली शेखले २४ रन जोडे।
सुदूरपश्चिमका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
१० विकेटको शानदार जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएल २०२६ को उपाधि आफ्नो नाममा लेखाएको छ।