एनपीएलको फाइनल खेल आज हुँदै,लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै

एनपीएलको फाइनल खेल आज हुँदै,लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै

काठमाडौं - तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ। उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल बेलुका ५ बजे सुरु हुनेछ। झन्डै एक महिना चलेको प्रतियोगिताले आज नयाँ च्याम्पियन पाउनेछ वा लुम्बिनीले उपाधि रक्षा गर्नेछ भन्ने टुंगो लाग्नेछ।

लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गर्दै फाइनल पुगेको हो। सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनल खेल्दैछ। यसअघि दुई संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा हुनेछ। यता, लुम्बिनी भने लगातार दोस्रोपटक उपाधि जित्दै इतिहास रच्ने दाउमा छ।

दुई टोलीबीचको हेड टु हेडमा लुम्बिनी अगाडि छ। हालसम्म भएका पाँच भेटमा लुम्बिनीले तीन खेल जित्दा सुदूरपश्चिमले दुई खेल आफ्नो पक्षमा पारेको छ। प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्।

खबरपाटी
खबरपाटी