काठमाडौं – साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको हो। सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा विकेटकिपर ब्याटर निरोशन डिक्वेलाले उत्कृष्ट प्रदर्शन गरे। उनले अविजित ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जित दिलाए।
३७ बलको सामना गरेका डिक्वेलाले ७ चौका र २ छक्का प्रहार गरे। उनले ३२ बलमै अर्धशतक पूरा गरेका थिए। लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन। ओपनर डार्सी सर्ट ०.३ ओभरमै खाता नखोली आउट भए भने आसिफ शेख ४ रनमा पेभिलियन फर्किए।
त्यसपछि डिक्वेलाले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। रोहितले २८ बलमा २१ रन बनाए। सन्दीप जोरा भने ८ रनमा आउट भए। त्यसपछि दिलीप नाथले १२ बलमा एक छक्कासहित अविजित १० रन जोड्दै डिक्वेलासँग मिलेर टोलीलाई जितसम्म पुर्याए।
सुदूरपश्चिमका थारिन्दु रत्नायकेले २ विकेट लिए। हेमन्त धामी र स्कट कुगेलेइनले समान एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो।
पावरप्लेमा २० रन जोड्दा ३ विकेट गुमाएको सुदूरपश्चिम दबाबमा परेको थियो। त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीलाई केही राहत दिलाए।
दीपेन्द्रले ५२ रन बनाए। इशानले २७ रनको योगदान दिए। सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २- विकेट लिए। यस्तै, अभिषेक गौतम र किशोर महतोले समान १-१ विकेट हात पारे।
यो हारसँगै सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना भने समाप्त भएको छैन। उसले अब फाइनल प्रवेशका लागि बुधबार हुने काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।