बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिंक्स नपिउन विभागको आग्रह

बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिंक्स नपिउन विभागको आग्रह

काठमाडौँ - सरकारले बालबालिका, गर्भवती तथा सुत्केरीलाई 'इनर्जी ड्रिंक्स' सेवन नगर्न भनेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधुमेहका रोगी र क्याफिनले असर गर्ने व्यक्तिहरूलाई पनि यस्ता ड्रिंक्स नपिउन आग्रह गरेको छ।

विभागका अनुसार इनर्जी ड्रिंक्स पिउन मिल्ने स्वस्थ वयस्क व्यक्तिले पनि दिनमा दुई क्यानभन्दा बढी पिउनु हुँदैन।

नेपालमा अहिले अनुमति लिएका १७ वटा उद्योगले इनर्जी ड्रिंक्स उत्पादन गरिरहेका छन्। जाँच गर्दा एक क्यानमा १०० मिलिग्रामसम्म क्याफिन पाइने गरेको छ। अन्तर्राष्ट्रिय नियम अनुसार एक जना स्वस्थ मानिसले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन लिन सक्छन्।

विभागले इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध वा मोहीजस्ता फाइदाजनक पेय पदार्थको साटो प्रयोग नगर्न र अरू पेय पदार्थमा मिसाएर नपिउन पनि भनेको छ।

कम्पनीहरूले अनुमति लिएर मात्र विज्ञापन गर्नुपर्ने र बट्टामा चेतावनीका कुरा स्पष्ट लेख्नुपर्ने नियम छ। नियम नमान्ने र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत काम गर्ने व्यापारीलाई कारबाही गरिने विभागले जनाएको छ।

खबरपाटी
खबरपाटी