काठमाडौँ – बडादशैँ आउन अब चार दिन मात्रै बाँकी छ। असोज २५ गते घटस्थापना परेको छ। बडादशैँ, तिहार र छठलाई लक्ष्य गर्दै सरकार र यातायात व्यवसायीहरूबीच सुरक्षित ढंगले यात्रुलाई गन्तव्यमा पुर्याउन विभिन्न ७ बुँदे निर्णय भएको छ।
हिजो(मंगलबार) यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूबीच बसेको बैठकले यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने निर्णय भएको छ।
यातायात आवागमन सहज बनाउन ट्रेलर लगायतका ठूला सवारी साधनहरु असाेज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ।
तथापी प्रचलित कानुन बमोजिम खाद्य सामग्री, औषधी, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सावारी साधनबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने निर्णय भएको छ।
यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमाको पर्सी कात्तिक १० गतेसम्म नेपालभर लागू हुने गरी लामो तथा मध्यम रुट परमिट खुला गर्ने निर्णय भएको छ। तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारीहरूलाई भने यो बन्देज कायमै रहने छ।
काठमाडौँ उपत्यकाका प्रमुख नाकाहरूमा स्थापित यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागबाट फोकल पर्सनसहित सहजिकरण टिम बनाई परिचालन गर्ने गराउने पनि निर्णय भएको छ। यसैअनुरूप यातायात व्यवसायीका तर्फबाट समेत सम्पर्क व्यक्ति खटाउने भनिएको छ।
नयाँ बसपार्क क्षेत्रमा मोबाइल फोन नेटवर्कको उच्च ट्राफिक देखिन आएकाले नेपाल टेलिकम तथा अन्य सेवा प्रदायक कम्पनीहरुलाई क्षमता अभिवृद्धि र विस्तारका लागि यातायात व्यवस्था विभागबाट पत्राचार गर्ने पनि निर्णय भएको छ।
त्यस्तै,चाडपर्वको समयमा रिजर्भमा जाने सवारी साधनको विवरण तथा यात्रुको विवरण अभिलेखीकरण गर्न/गराउन यातायात व्यवस्था विभागबाट नमुना प्रारुप तयार गरी यातायात व्यवसायीहरुलाई उपलब्ध गराउने र सो अनुरुप सेवा प्रदान गर्ने व्यवसायीहरुले विवरण प्रविष्टि गरेर मात्र यातायात सेवा प्रदान गर्नुपर्ने निर्णय भएको छ।
सवारी साधनहरुको फिटनेस जाँचका लागि नाडा/सिप्रदीलाई अनुरोध गर्ने र यातायात व्यवस्था विभागको तर्फबाट सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाउने व्यवस्था गर्ने पनि निर्णय भएको छ। काठमाडौँ उपत्यकाबाट हरेक वर्ष दशैँ मनाउन करिब १५ लाख देखि २० लाख यात्रु बाहिरिने गरेका छन्।