अमेरिकासँग वार्ताका लागि इरानका तीन सर्त, ट्रम्पको जवाफ कुर्दै तेहरान

अमेरिकासँग वार्ताका लागि इरानका तीन सर्त, ट्रम्पको जवाफ कुर्दै तेहरान

काठमाडौं - इरानले अमेरिकासँग वार्ता अघि बढाउन तीनवटा प्रमुख सर्त अघि सारेको जनाएको छ। इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईका अनुसार कतार र पाकिस्तानका मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सर्तहरू पठाइएको छ र अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा गरिएको छ।

बीबीसीका अनुसार इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा र नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने माग छन्। इरानले कतार र पाकिस्तानी मध्यस्थसँग निरन्तर परामर्श गरिरहेको रेजाईले बताएका छन्।

तर, रेजाईले वार्ताको सन्देशसँगै सैन्य चेतावनी पनि दिएका छन्। इरानमाथि पुनः आक्रमण भए क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूलाई अझ शक्तिशाली रूपमा निशाना बनाउने उनले चेतावनी दिएका छन्।

परमाणु कार्यक्रमबारे रेजाईले इरानले अहिलेसम्म परमाणु अप्रसार सन्धि (एनपीटी) बाट बाहिरिने निर्णय नगरेको बताएका छन्। यसबारेको आगामी निर्णय अमेरिकाको व्यवहारमा निर्भर रहने उनको भनाइ छ।

उनले इरानले परमाणु हतियारसम्बन्धी पूर्व सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीको फतवा (औपचारिक कानुनी आदेश)लाई अझै पालना गरिरहेको र परमाणु नीतिमा कुनै परिवर्तन नगरेको दाबी गरे। यद्यपि भविष्यमा अवस्था कस्तो हुन्छ भन्नेबारे आफूहरूले निश्चित भन्न नसक्ने उनले बताएका छन्।

यसैबीच रेजाईले साउदी अरब र यमनबीचको युद्ध अन्त्य गर्न पनि आह्वान गरेका छन्। यमनका हुथी विद्रोही पनि साउदी अरबसँग सम्झौतामा पुग्न इच्छुक रहेको आफूहरूको बुझाइ रहेको उनले बताएका छन्।

खबरपाटी
खबरपाटी