काठमाडौँ - नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम ( आईएफसी ) र एसियाली विकास बैंक ( एडीबी ) लाई नेपाली रुपैयाँमा आधारित ‘अफसोर’ ऋणपत्र जारी गर्न स्वीकृति दिएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार दुवै अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई नेपालको निजी क्षेत्रद्वारा प्रवद्र्धित विकास तथा पूर्वाधार आयोजनामा लगानी जुटाउन प्रतिसंस्था २० करोड अमेरिकी डलर बराबरको बन्ड जारी गर्ने अनुमति दिइएको हो ।
यस निर्णयअनुसार दुवै संस्थाले आगामी १० वर्षको अवधिभित्र अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँमा अंकित बन्ड जारी गर्न सक्नेछन् । ती संस्थाले नेपालका वाणिज्य बैंकहरूसँगको समन्वयमा निजी क्षेत्रका पूर्वाधार आयोजनामा उक्त रकम परिचालन गर्नेछन् ।
एडीबी र आईएफसीले अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँमा आधारित बन्ड जारी गर्ने प्रस्ताव अघि सारेको एक दशकभन्दा बढी समय भइसके पनि कानुनी तथा प्रक्रियागत जटिलताका कारण त्यसको कार्यान्वयन हुन सकेको थिएन ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले यस निर्णयबारे टिप्पणी गर्दै ‘अफसोर’ बन्ड नेपालका लागि स्रोत व्यवस्थापनको एक व्यावहारिक र नयाँ विकल्प भएको बताएका छन् । आवधिक योजना तथा राष्ट्रिय विकासका लक्ष्य पूरा गर्न आवश्यक ठूलो स्रोतको खाडल पूर्ति गर्न यो कदम कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।