आन्दोलनरत महाअभियानसँग वार्ताका लागि सरकारले गठन गर्‍यो टोली

आन्दोलनरत महाअभियानसँग वार्ताका लागि सरकारले गठन गर्‍यो टोली

काठमाडौं- सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि  टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले  सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

वार्ता टोलीको सदस्यहरुमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहनुभएको छ। यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच गहन छलफल भएको थियो ।

छलफलमा महाअभियानको मागबमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो । सरकारले वार्ताका लागि गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि आएको पत्रसमेत ग्रहण गरेका थिए । छलफलमा महाअभियानका प्रतिनिधि : विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा रहनुभएको थियो।

खबरपाटी
खबरपाटी