मन्त्रीका लागि हेलिकप्टर, जनताका लागि एम्बुलेन्स खोइ?

मन्त्रीका लागि हेलिकप्टर, जनताका लागि एम्बुलेन्स खोइ?

काठमाडौँ - स्वास्थ्यमा समस्या आएपछि पूर्वाधारमन्त्री सुनील लम्साललाई हेलिकप्टरमार्फत उद्धार गरिएको विषयले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ। मन्त्रीको उपचार तथा उद्धारका लागि राज्यले ठूलो रकम खर्च गरेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् भने अर्काथरी सांसदले उनको बचाउ गरेका छन्।

प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सचेतक बासना थापाले दूरदराजका नागरिक सामान्य औषधिसमेत नपाउने र सुत्केरी महिलाले अस्पताल पुग्न सवारीसाधन नपाउने अवस्थामा मन्त्रीलाई भने लाखौँ रुपैयाँ खर्च गरेर बैतडीबाट धनगढी हुँदै काठमाडौँ ल्याइएको भन्दै सरकारको आलोचना गरिन्।

‘काठमाडौँको मिनिरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ,’ उनले भनिन्, ‘मन्त्री काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्‍याउन सक्दैन।’

उनले मन्त्रीको जीवन जत्तिकै कर्णालीका नागरिकको जीवन पनि मूल्यवान रहेको बताउँदै सरकारले जनताको आधारभूत स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने धारणा राखिन्।

‘सरकार कान खोलेर सुन्नुहोस्, मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान छ,’ उनले भनिन्, ‘मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि एम्बुलेन्स नपुग्ने, के यही समानता हो? के यही जनताको सरकार हो?’

थापाले सरकारले एकातिर एक्सप्रेस वे निर्माणको चर्चा गर्ने तर अर्कोतर्फ कर्णालीजस्ता दुर्गम क्षेत्रमा आवश्यक औषधिसमेत नपुग्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

यसको जवाफमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरतप्रसाद पराजुलीले मन्त्री लम्सालको बचाउ गरे। उनले मन्त्री लम्साल सरकारको जिम्मेवार प्रतिनिधिका रूपमा आफैँ गाडी चलाएर देशका दुर्गम क्षेत्रमा पुग्दै त्यहाँको अवस्था बुझिरहेको बताए।

‘माननीय सुनील लम्साल मन्त्रीज्यू अहोरात्र पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म आफैँ गाडी चलाएर यो वर्षातको समयमा देशका दुर्गम ठाउँमा पुगेर कनेक्टिभिटीका समस्या र जनताको अवस्था बुझ्न जानुभएको छ,’ उनले भने, ‘उहाँ रिबन काट्न जानुभएको होइन, तैपनि उहाँकै आलोचना भइरहेको छ।’

सांसद पराजुलीले आलोचनाका लागि मात्र आलोचना गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउँदै राम्रो कामको समर्थन र गलत कामको आलोचना गर्ने राजनीतिक संस्कृतिको विकास गर्न आग्रह गरे।

केही दिनअघि बैतडी पुगेका पूर्वाधारमन्त्री लम्साललाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो। त्यसपछि उनलाई धनगढीबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौँ ल्याइएको थियो।

लम्साल शनिबार अबेर साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए। सोही क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो। उनी हाल अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

मन्त्रीको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको विषयलाई लिएर संसद्मा आलोचना र बचाउ दुवै पक्षबाट धारणा आएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरूबीच जुहारी चलेको हो।

खबरपाटी
खबरपाटी