काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्।
सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्मन्त्री बानियाँले आज सदनबाट विश्वासको मत फेस गर्ने भएका हुन्।
अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट बहुमत सदस्यको विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। बहुमत प्राप्त गरे वर्तमान सरकार निरन्तर रहनेछ भने विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री पदमुक्त हुनेछन्।
बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। सरकार टिकाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेससँग ३६ सांसद छन्। सरकारमा सहभागी भएको हाम्रो नेपाली पार्टी (हानेपा) सहित ३८ सिट हुन्छ।
बहुमत पु¥याउन थप १५ सांसद आवश्यक पर्ने भएकाले कांग्रेसले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहेकका दलसँग छलफल अघि बढाएको छ।
कांग्रेसको नजर अहिले १२ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ३ सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मा केन्द्रित छ। यी दुई दलको समर्थन जुटाउन सके कांग्रेसले आवश्यक ५३ मत पु¥याउन अंकगणित मिल्ने देखिएको छ।
मुख्यमन्त्रीलाई विश्वासको मत जुटाउन सक्ने निर्णायक शक्ति मानिएका राप्रपा र नेमकिपा दुवै अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन्। दुवै दलले सरकारमा सहभागी नहुने संकेत गरिसके पनि विश्वासको मतका विषयमा भने अन्तिम निर्णय लिएका छैनन्। राप्रपाले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ। तर विश्वासको मतको विषयमा पनि कांग्रेस नेतृत्वको सरकार वा नयाँ बन्ने गठबन्धनमध्ये कसलाई साथ दिने भन्ने स्पष्ट भएको छैन।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशको आवश्यकता र परिस्थितिअनुसार निर्णय गर्ने बताउँदै आए पनि बागमतीका सांसदहरूलाई अहिलेसम्म कुनै औपचारिक निर्देशन दिएका छैनन्।
यता, नेमकिपाको अवस्था पनि राप्रपाभन्दा फरक देखिँदैन। बागमती प्रदेश गठन भएयता सरकारमा सहभागी नभई निरन्तर प्रतिपक्षमा बसेको नेमकिपाले यसपटक पनि मन्त्री पद लिएर सत्तामा जाने सम्भावना देखाएको छैन।
तर, सरकार गठनमा भूमिका खेल्ने सम्भावनाको ढोका भने नेमकिपाले पूर्ण रूपमा बन्द गरेको छैन। नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँले विगतका कमजोरी सच्याएर जनपक्षीय र जनचाहनाअनुसारको सरकार निर्माण हुने अवस्था बने सहयोगका विषयमा सोच्न सकिने बताएका छन्।
यद्यपी, सदनबाट विश्वासको मत प्राप्त गर्ने कुरामा मुख्यमन्त्री आफैँ भने ढुक्क देखिदैनन्। राप्रपा र नेमकिपाको स्पष्ट धारण नआएको कारण धरमरमै रहेको उनी बताउँछन्। एमाले र नेकपाको सरकार बन्ने राजनीतिक सहमति भैसकेको अवस्थामा कांग्रेस नेतृत्वकै सरकारले निरन्तता पाउँछ भन्न सक्ने स्थिति नरहेको बानियाँको भनाइ छ। बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्री हुन्। उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
त्यसैगरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि आज विश्वासको मत लिँदै छन्। प्रदेशसभा सचिवालयले दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो।
सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्नेछन्।
मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन्।
मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
लुम्बिनी प्रदेशसभामा कुल ८३ जना प्रदेशसभा सदस्य छन्। सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेशसभा सदस्यको समर्थन जुटाउने गरी तयारी गरेका छन्।