काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले पछिल्लो समय ग्यास मौज्दातका विषयमा सार्वजनिक भएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमको संयोजनमा भएको अनुगमनका क्रममा मौज्दातका विषयमा गरिएको टिप्पणीप्रति चेम्बरले आफ्नो धारणा सार्वजनिक गरेको हो।
चेम्बरले व्यावसायिक प्रयोजनका लागि आवश्यक पर्ने ग्यासको मौज्दातलाई सामान्य उपभोगको आधारमा मात्र मूल्यांकन गर्न नहुने जनाएको छ। व्यावसायिक प्रतिष्ठान तथा उद्योगको दैनिक खपत, सञ्चालनको प्रकृति र आपूर्ति व्यवस्थालाई समेत आधार बनाएर मौज्दातको मूल्यांकन गर्नुपर्ने उसको भनाइ छ।
नेपाल चेम्बरले कृत्रिम अभाव सिर्जना गर्ने, अवैध कारोबार गर्ने वा प्रचलित कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ। तर, वैध रूपमा सञ्चालनमा रहेका व्यावसायिक गतिविधिलाई हतोत्साहित गर्ने तथा निजी क्षेत्र र लगानीको वातावरणमा नकारात्मक असर पार्ने किसिमका टिप्पणी तथा प्रचारप्रति संवेदनशील हुनुपर्नेमा जोड दिएको छ।
चेम्बरले आपूर्ति, नियमन वा अन्य कुनै समस्या देखिएमा सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग आवश्यक संवाद र समन्वय गरी समाधान खोज्नुपर्ने बताएको छ।
व्यवसायमा आवश्यक नियमन कायम राख्दै वैध लगानी र व्यावसायिक गतिविधिलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नुपर्ने चेम्बरको धारणा छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति तथा सरोकारवालाबीचको संवादबाट निजी क्षेत्रप्रतिको विश्वास कायम गर्न सकिने चेम्बरले जनाएको छ।
नेपाल चेम्बर अफ कमर्सले श्रावण ३१, २०८३ मा विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो।