काठमाडौं - नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रमलाई आधार बनाएर सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ नामक ग्रन्थ लोकार्पण गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयको व्याकरण विषय समितिको आयोजनामा शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजित विशेष समारोहमा सन्त समाज, नेपालका अध्यक्ष तथा देवघाटधामस्थित हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले ग्रन्थको लोकार्पण गर्नुभएको हो।
समारोहको सभापतित्व नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत व्याकरण विषय समितिका अध्यक्ष प्रा. भीमप्रसाद कण्डेलले गर्नुभएको थियो। कार्यक्रममा भाषाविज्ञान तथा व्याकरण क्षेत्रका विशिष्ट विद्वान् प्रा.डा. माधवप्रसाद पोख्रेल, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. अच्युतप्रसाद लामिछानेलगायत विभिन्न क्षेत्रका विद्वान् तथा प्राध्यापकहरूको सहभागिता थियो।
करिब १५० भन्दा बढी प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा संस्कृतप्रेमी सहभागी समारोहमा ग्रन्थको विषयवस्तु, शास्त्रीय पक्ष, संरचना तथा उपयोगिताबारे चर्चा गरिएको थियो।
शब्दशास्त्रविज्ञानम्’मा पाणिनीय शिक्षा, व्याकरणशास्त्रको ऐतिहासिक विकास, संस्कृत भाषाविज्ञान तथा भाषाहरूबीचको तुलनात्मक अध्ययनसँग सम्बन्धित विषय समेटिएका छन्। नेपाल संस्कृत विश्वविद्यालयले परिमार्जन गरेको पाठ्यक्रमलाई आधार बनाएर तयार पारिएकाले ग्रन्थ विश्वविद्यालय तहमा संस्कृत व्याकरण तथा भाषाविज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
ग्रन्थ समीक्षाका क्रममा सहप्रा. डा. केशवशरण अर्याल र प्रा.डा. जीवन अधिकारीले कृतिको विषयवस्तु, संरचना तथा शास्त्रीय महत्त्वमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा भाषाविद् तथा व्याकरणविद् प्रा.डा. माधवप्रसाद पोख्रेलले संस्कृत व्याकरण र भाषाविज्ञानलाई समसामयिक अध्ययनसँग जोडेर प्रस्तुत गर्ने यस्ता कृतिले संस्कृत अध्ययनलाई थप अनुसन्धानमुखी बनाउन सहयोग पुग्ने बताउनुभयो।
प्रमुख अतिथि स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले संस्कृत भाषा, व्याकरण र शास्त्रीय ज्ञानको संरक्षण तथा सम्वर्द्धनमा अनुसन्धानमूलक कृतिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
ग्रन्थकार डा. प्रकाश तिवारीले ग्रन्थ प्रकाशनमा सहयोग गर्ने नेपाल संस्कृत विश्वविद्यालय, व्याकरण विषय समिति, समीक्षक, विद्वान्, सहकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो।
संस्कृत व्याकरण, पाणिनीय परम्परा र भाषाविज्ञानलाई एउटै कृतिमा समेटिएको ‘शब्दशास्त्रविज्ञानम्’ संस्कृत अध्ययन–अध्यापन तथा अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।