काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाल विद्युत् उत्पादन, प्रसारण, आन्तरिक खपत र अन्तरदेशीय विद्युत् व्यापार विस्तारको निर्णायक चरणमा प्रवेश गरिसकेको बताए।
उनले विद्युत् उत्पादनको पूर्ण लाभ लिन आधुनिक, भरपर्दो, सुरक्षित र पर्याप्त क्षमताको प्रसारण प्रणाली निर्माणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। उत्पादन मात्रै बढाएर ऊर्जा क्षेत्रबाट अपेक्षित आर्थिक प्रतिफल हासिल गर्न नसकिने भन्दै उनले उत्पादन, प्रसारण र वितरण पूर्वाधारको एकीकृत विकास आवश्यक रहेको बताए।
‘विद्युत् उत्पादन बढ्दै जानु सकारात्मक उपलब्धि हो, तर उत्पादित विद्युत्लाई विश्वसनीय रूपमा प्रसारण गर्न र उत्पादनशील क्षेत्रमा खपत बढाउन सकिएन भने यसको पूर्ण आर्थिक लाभ लिन सकिँदैन,’ मन्त्री श्रेष्ठले भने।
सरकारले विद्युत्लाई औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा समग्र आर्थिक रूपान्तरणको प्रमुख संवाहकका रूपमा विकास गर्ने नीति लिएको उनले बताए। त्यसका लागि उद्योग, कृषि, सिँचाइ, विद्युतीय यातायात, सूचना प्रविधिलगायत उत्पादनशील क्षेत्रमा विद्युत् खपत बढाउन आवश्यक नीतिगत तथा पूर्वाधारगत व्यवस्था गरिने उनको भनाइ छ।
देशभित्र खपत हुन नसक्ने अतिरिक्त विद्युत् क्षेत्रीय बजारमा पुर्याएर निर्यातमार्फत विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन सकिने मन्त्री श्रेष्ठले बताए। नेपालको जलविद्युत् सम्भावनालाई क्षेत्रीय ऊर्जा बजारसँग जोड्न सके विद्युत् क्षेत्र आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उनले उल्लेख गरे।
उच्च क्षमताका प्रसारण लाइन, सबस्टेसन तथा अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तारका लागि ठूलो लगानी आवश्यक रहेको भन्दै उनले सार्वजनिक क्षेत्रसँगै निजी क्षेत्र, विकास साझेदार, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।
प्रसारण प्रणालीलाई भविष्यमा थपिने विद्युत् उत्पादन र मागअनुसार सक्षम बनाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उनले बताए। आधुनिक ग्रिड व्यवस्थापन प्रणालीमार्फत प्रसारण प्रणालीलाई थप विश्वसनीय, प्रभावकारी र दिगो बनाउनुपर्ने उनको भनाइ थियो।
मन्त्री श्रेष्ठले विद्युत् प्रसारण प्रणालीमा खुला पहुँच, पारदर्शी नियामकीय व्यवस्था तथा लागतमा आधारित प्रसारण सेवा प्रणाली विकास गर्दै प्रतिस्पर्धी र गतिशील विद्युत् बजार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
ऊर्जा क्षेत्रमा लगानी आकर्षित गर्न स्पष्ट, स्थिर र लगानीमैत्री नीतिगत वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आफ्नो संस्थागत क्षमता विस्तार गर्दै रणनीतिक महत्वका प्रसारण पूर्वाधार निर्माणमा प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।