काठमाडौँ – बजेट ल्याउन नसकेका मधेश प्रदेशका स्थानीय तहहरूसँग संघीय सरकारले छलफल गर्ने भएको छ। बजेट ल्याउन नसकेका कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिकाको सम्बन्धमा छलफल गरिने भएको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा हुन लागेको उक्त छलफलको नेतृत्व मन्त्रालयका सहसचिवले गर्नुहुने मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त पालिकाहरुको सभामा बजेट पेस र्गन नसकेपछि स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल शुरु हुन थालेको हो ।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधि सहभागी हुने बताइएको छ। प्रतिनिधिमण्डलले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा नगरपालिका, फतुवा विजयपुर नगरपालिका र मौलापुर नगरपालिका पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछ।
स्थानीय तहको बजेट प्रक्रिया अवरुद्ध हुँदा सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित हुने भएकाले समाधानका लागि मन्त्रालयले स्थलगत रूपमा नै सहजीकरण गर्न लागेको हो।