साउदी अरब, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर

साउदी अरब, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर

काठमाडौं - मध्यपूर्वमा बढ्दो सैन्य तनाव र द्वन्द्वबीच साउदी अरेबिया, पाकिस्तान र टर्कीले ऐतिहासिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। शुक्रबार तीन देशबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’ भएको हो। यसले मध्यपूर्वको भूराजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याउन सक्ने विश्लेषकहरूले बताएका छन्।

तीन देशले सामूहिक सुरक्षालाई थप मजबुत बनाउने तथा क्षेत्र र बाहिर पनि शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। पाकिस्तानको परराष्ट्र मन्त्रालयले यो सम्झौताको अर्थ सदस्य राष्ट्रहरूमध्ये कसैमाथि पनि हुने आक्रमणलाई सबैमाथिको आक्रमण मानिने र यसले ‘सामूहिक प्रतिरोध’लाई बलियो बनाउने स्पष्ट पारेको छ।

यो सम्झौता हुनुभन्दा एक दिनअघि मात्रै पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ शक्तिशाली सेना प्रमुख असिम मुनिरसहित साउदी अरेबिया पुगेर मक्कामा उमराह गरेका थिए। त्यसलगत्तै शुक्रबार टर्कीका राष्ट्रपति रेजेप तयिप एर्दोआन पनि साउदी अरेबिया पुगेर साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका थिए। 

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता साउदी अरेबिया लगातार इरान र उसका सहयोगीहरू (यमनका हुथी विद्रोही तथा इराकका सिया सशस्त्र समूहहरू) को निशानामा पर्दै आएको छ। यस द्वन्द्वले साउदी अरेबियाको तेल निर्यात र महत्वाकांक्षी विकास योजनाहरूलाई संकटमा पारेको छ भने दशकौँ पुरानो अमेरिकी सुरक्षा छाताको विश्वसनीयतामाथि पनि गम्भीर प्रश्न उठाएको छ।

केही वर्षयता मध्यपूर्वमा ठूलो उथलपुथल देखिएको छ, विशेष गरी अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपश्चात र त्यसपछि गजामा भएको नरसंहारपछिको परिस्थिति निकै जटिल बनेको छ। इरान र इजरायलबीचको दशकौँ पुरानो दुश्मनी अहिले प्रत्यक्ष क्षेत्रीय युद्धमा परिणत भएको छ।

यस्तो अवस्थामा मध्यपूर्वका राष्ट्रहरू आपसी पुराना मतभेदहरूलाई बिर्सिएर व्यावहारिक बाटो रोज्न थालेको अलजजीराले जनाएको छ। सम्झौतामा एकमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिनेछ भनिए तापनि यो व्यावहारिक रूपमा कति लागू हुन्छ भन्ने अझै स्पष्ट छैन।  पाकिस्तानले फेब्रुअरीदेखि अफगानिस्तानसँग सीमा द्वन्द्व भोगिरहेको छ भने मे २०२५ मा भारतसँग पनि झडप भएको थियो। साउदी अरेबिया इरान र उसका सहयोगीहरूको आक्रमणको चपेटामा छ। टर्कीले देश भित्र र बाहिर कुर्दिश सशस्त्र समूहहरूसँग वर्षौंदेखि लडिरहेको छ र इजरायलसँग पनि उसको सम्बन्ध बिग्रिएको छ।

यदि यमनका हुथीहरूले साउदी अरेबियामाथि आक्रमण गरे भने के त्यसमा टर्की र पाकिस्तान प्रत्यक्ष रूपमा सामेल हुन्छन्? यो भने अहिल्यै भन्न सकिने अवस्था छैन। विज्ञहरूका अनुसार यी तीनै देशका लागि क्षेत्रीय सुरक्षा र स्थायित्वको सबैभन्दा ठूलो खतरा इजरायल नै हो। त्यसपछि साउदी अरेबियाका लागि इरान अर्को प्रमुख चुनौती हो।

यो गठबन्धनमा इजिप्ट, कतार, सिरिया र संयुक्त अरब इमिरेट्सजस्ता देशहरू थपिन सक्ने सम्भावनाबारे पनि चर्चा चलेको छ। तर, यी देशहरूका आ–आफ्नै राजनीतिक बाध्यता र फरक स्वार्थहरू छन्। सिरिया १३ वर्षको गृहयुद्धपछिको पुनर्निर्माणमा केन्द्रित छ र इजरायलको उत्तरमा अवस्थित भएकाले उसले यस्तो गठबन्धनमा सामेल भएर अनावश्यक जोखिम मोल्न चाहँदैन। इजिप्ट आफ्नो अर्थतन्त्र र घरेलु राजनीतिक स्थायित्वमा ध्यान केन्द्रित गरिरहेको छ।

खबरपाटी
खबरपाटी