काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार अर्ग्यानिक कृषि व्यवसायीहरूको छाता संस्था अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरण प्रक्रिया सहज, सुलभ र अन्तर्राष्ट्रिय मान्यताप्राप्त बनाउन आवश्यक पहल गर्न निर्देशन दिनुभएको हो।
छलफलका क्रममा व्यवसायीहरूले अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण विदेशबाट गराउँदा अत्यधिक खर्च लाग्ने भएकाले सरकारको मातहतमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्नुपर्ने माग गरेका थिए। सोही मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आवश्यक प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
व्यवसायीहरूले प्रमाणीकरणमा सरकारले उपलब्ध गराउँदै आएको ७५ प्रतिशतसम्मको अनुदान बन्द भएको भन्दै त्यसलाई पुनः सञ्चालन गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदानलाई निरन्तरता दिने विषयमा सरकार सकारात्मक रहेको बताउनुभयो।
प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा व्यावहारिक कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
छलफलमा प्रांगारिक (अर्ग्यानिक) मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान उपलब्ध गराउनुपर्ने, साथै रासायनिक मलसरह सुविधा अर्ग्यानिक मल उत्पादन वा खरिदमा पनि उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरूले राखेका थिए। प्रधानमन्त्री शाहले ती मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
यस्तै, अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले उपलब्ध गराउँदै आएको अनुदान दुई वर्षदेखि रोकिएको विषयमा कानुनी समाधान खोज्न सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी पनि प्रधानमन्त्री शाहले दिनुभयो।
छलफलमा अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुनुहुन्थ्यो।