काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गर्दै नवनियुक्त सदस्य तथा सल्लाहकारलाई मनोनयन पत्र हस्तान्तरण गरेको छ।
बुधबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवर्द्धन, उत्पादन तथा निर्यात विस्तार र निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले परिणाममुखी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
महासंघका जिल्लानगर उपाध्यक्ष दील सुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै क्षेत्रगत समस्याको समाधानमा यसको भूमिका प्रभावकारी रहने बताउनुभयो।
वस्तुगत उपाध्यक्ष तथा परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघहरू निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउन परिषद्ले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूलाई आफ्नो क्षेत्रका समस्या, सुझाव र नीतिगत धारणा तथ्याङ्कमा आधारित अनुसन्धानसहित महासंघमार्फत प्रस्तुत गरी निजी क्षेत्रको हित संरक्षण र प्रवर्द्धनमा योगदान दिन आग्रह गर्नुभयो।
एसोसिएट उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्किन नसकेको र लगानीमैत्री वातावरण निर्माण हुन बाँकी रहेको उल्लेख गर्दै व्यवसायिक गतिविधि विस्तारमार्फत अर्थतन्त्र चलायमान बनाउन परिषद्को भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा समितिका गतिविधिले महासंघलाई थप सक्रिय बनाउने बताउँदै परिणाममुखी कार्यशैली अपनाई अर्थतन्त्रलाई चलायमान बनाउने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्य तथा परिषद्का सभापति नरेशलाल श्रेष्ठले नवनियुक्त सदस्य र सल्लाहकारलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो।
यसैबीच, बुधबार बसेको वस्तुगत परिषद्को बैठकले भक्तबहादुर हमाललाई परिषद्को उपसभापतिमा मनोनयन गरेको छ। महासंघमा हाल १४२ वटा वस्तुगत सदस्य संस्था आबद्ध रहेका छन्।