काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
ट्रम्पले अमेरिकी कार, दुग्धजन्य उत्पादन र मदिराप्रति गरिएको असमान व्यवहारको जवाफस्वरूप यो कदम चालिएको बताएका छन्।
अमेरिकी प्रशासनका अनुसार नयाँ कर ३० दिनभित्र लागू हुनेछ। यस निर्णयपछि अमेरिका र क्यानाडाबीचको व्यापारिक तनाव अझ बढ्न सक्ने अनुमान गरिएको छ।
करको दायरामा दैनिक उपभोगका धेरै वस्तु समावेश छन्। उता, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो सरकार अमेरिकासँगको व्यापार वार्तालाई आगामी केही सातामा अझ तीव्र बनाउन तयार रहेको बताएका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी विज्ञप्तिमा उनले अमेरिकी निर्णयलाई एकपक्षीय व्यापारिक कदमको संज्ञा दिएका छन्। उनले आफ्नो वक्तव्यमा क्यानाडाको सार्वभौमसत्तामाथिको खतराको पनि उल्लेख गरे।
यसलाई ट्रम्पको त्यस अघिल्लो भनाइसँग जोडेर हेरिएको छ, जसमा उनले क्यानाडालाई अमेरिकाको ५१औँ राज्य बनाउने कुरा गरेका थिए।