पुँजी बजार सरकारको प्राथमिकतामा, सुधारका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता

पुँजी बजार सरकारको प्राथमिकतामा, सुधारका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिको आधारका रूपमा पुँजी बजारलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग भएको छलफलमा उहाँले पुँजी बजारमार्फत उद्यमशीलताको विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार सरकारको मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो। राम्रो काम गर्नेलाई सरकारले प्रोत्साहन गर्ने तर अनियमितता गर्नेप्रति शून्य सहनशीलताको नीति अपनाइने उहाँको भनाइ थियो।

छलफलमा पुँजी बजारका सरोकारवालाहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत तथा प्रणालीगत सुधार आवश्यक रहेको औँल्याए। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीमा सुधार, दोस्रो बजारमा माग–आपूर्तिको सन्तुलन कायम गरी उचित मूल्य निर्धारण व्यवस्था विकास गर्न तथा दैनिक कारोबार रकम ३० अर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने वातावरण बनाउन सरकारसँग आग्रह गरे।

सहभागीहरूले ब्रोकर कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्थाबाट मार्जिन कर्जा सहज रूपमा उपलब्ध गराउन, धितोपत्रमा गरिएको लगानी छ महिनासम्म बिक्री गर्न नपाइने व्यवस्था हटाउन तथा सेयर धितो कर्जाको सीमा कुल कर्जाको पाँच प्रतिशत कायम गर्नुपर्ने सुझाव पनि दिएका छन्।

यस्तै, व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजन, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनर्संरचना तथा गैरआवासीय नेपालीलाई नेपालको पुँजी बजारमा लगानी गर्ने व्यवस्था गर्नुपर्ने माग समेत राखिएको छ।

छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए।

नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र २०८३ कार्यान्वयनमा ल्याइसकिएको जानकारी दिँदै कार्यक्रमहरू चरणबद्ध रूपमा अघि बढिरहेको बताए।

त्यस्तै, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बीमा तथा पुँजी बजारसँग सम्बन्धित कानुन संशोधनको प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै नेप्सेको पुनर्संरचना तथा धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

खबरपाटी
खबरपाटी