काठमाडौँ - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छिन्।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन्। यी लक्ष्य हासिल गर्न चीन सरकार, सिडका, एफएओ तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको बताइन्।
‘कृषि क्षेत्रको दिगो विकास र खाद्य सम्प्रभुता सुनिश्चित गर्न नेपाल सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण तथा आधुनिक परीक्षण प्रयोगशालाको निर्माण एवं दायरा विस्तारलाई आफ्नो उच्च नीतिगत प्राथमिकता राखेको छ र नवप्रवर्तन र जलवायु स्मार्ट प्रविधिको अधिकतम उपयोगमार्फत उत्पादन वृद्धि गर्ने दिगो मूल्य श्रृङ्खला विकास गर्ने, महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरण गर्दै समावेशी आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रमुख राष्ट्रिय लक्ष्य हो’, उनले भनिन्, ‘यस लक्ष्यमा चीन सरकार र सिडका तथा एफएओ लगायतका दातृ राष्ट्र एवं संस्थाहरूबाट सहयोगको अपेक्षा गर्दछु।’
मन्त्री चौधरीले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृङ्खला विकास गर्ने बताइन्। उनले नेपालको कृषि क्षेत्र न्युन उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको धारणा राखिन्।उनले चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेसन एजेन्सी (सिडका) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा शुरु भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण र दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको बताइन्।