अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण कच्चा तेलको मूल्य १ महिनायताकै उच्च विन्दुमा

अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण कच्चा तेलको मूल्य १ महिनायताकै उच्च विन्दुमा

अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

आज ब्रेन्ट क्रुड तेलको मूल्य ३ प्रतिशतले बढेर प्रतिब्यारेल ९० डलरभन्दा माथि पुगेको छ । यो मूल्य गएको जुन ११ यताकै सबैभन्दा धेरै हो ।

गएको हप्तादेखि अमेरिका र इरानबीचको सैन्य द्वन्द्व चर्किएसँगै ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढेको समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरिरहेको छ भने इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ ।

मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एशियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ ।

चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन दिन नयाँ उपाय सार्वजनिक गर्ने अपेक्षाले हङकङ र शाङ्घाईका बजारमा उल्लेखनीय वृद्धि भएको छ । हङकङको सूचकाङ्क २ प्रतिशतभन्दा धेरै र शाङ्घाईको सूचकाङ्क १.३२ प्रतिशतले उकालो लागेको छ । ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि बढेका छन् ।

यस्तै सियोल, सिड्नी र वेलिङ्टनका बजारमा भने सावधानीपूर्ण कारोबार देखिएको छ । गएको शुक्रवार वाल स्ट्रिटका ३ वटै प्रमुख सूचकाङ्क घटेर बन्द भएपछि लगानीकर्ताहरू अझ सतर्क बनेका छन् । 

यसैबीच भू–राजनीतिक तनावका बाबजुद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.४० प्रतिशतले घटेको छ भने चाँदीको मूल्य १ प्रतिशतले बढेको छ ।

 

खबरपाटी
खबरपाटी