काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङलाई केवल एउटा पेशा नभई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। उहाँले आधुनिक, दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत देशको समृद्धिको आधार तयार गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा रहेको उल्लेख गर्नुभयो।
६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, सिँचाइ, खानेपानी, भवन तथा सूचना प्रविधिलगायतका पूर्वाधार विकासले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
उहाँले सरकारले जलविद्युत् उत्पादन विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण सञ्जाल सुदृढीकरण, सिँचाइ प्रणालीको आधुनिकीकरण, ऊर्जा सुरक्षाको सुनिश्चितता, नवीकरणीय ऊर्जा प्रवर्द्धन, डिजिटल पूर्वाधार विस्तार तथा जलवायु अनुकूल विकासलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयो।
मन्त्री श्रेष्ठले विकास आयोजनाको सफलता अब बजेट खर्चका आधारमा मात्र नभई समयमै सम्पन्न हुने, लागत अनुशासन कायम गर्ने र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने परिणामका आधारमा मूल्याङ्कन गरिने स्पष्ट पार्दै इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता, पारदर्शिता र नवप्रवर्तनशील सोचको अपेक्षा गरिएको बताउनुभयो।
ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइएको उल्लेख गर्दै उहाँले जलविद्युत् उत्पादन वृद्धि, प्रसारण पूर्वाधार विस्तार, क्षेत्रीय विद्युत् व्यापार तथा नवीकरणीय ऊर्जा विकासमा दक्ष इन्जिनियरहरूको भूमिका निर्णायक रहने विश्वास व्यक्त गर्नुभयो।
इन्जिनियरहरूलाई व्यावसायिक इमानदारी, सार्वजनिक उत्तरदायित्व र गुणस्तरप्रतिको प्रतिबद्धतालाई कार्यसंस्कृतिको आधार बनाउन आग्रह गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहितलाई सर्वोपरि राखी सिर्जनशील र जिम्मेवार ढंगले काम गर्न आह्वान गर्नुभयो। साथै उहाँले सम्पूर्ण नेपाली इन्जिनियरहरूलाई ६४औँ इन्जिनियर्स दिवसको शुभकामना व्यक्त गर्नुभयो।