काठमाडौँ – तेस्रो मुलुकबाट भारतीय भूमि हुँदै नेपाल आयात हुने मालसामान आजदेखि कोलकातादेखि सीधै विराटनगर रेलवे कार्गो ढुवानी शुरु भएको छ।
नेपाल-भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्ग हुँदै पारवहन गर्न पाउने व्यवस्था छ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्तरुपमा हरियो झण्डा देखाई उक्त रेल कार्गोको शुभारम्भ गरे।
विगतमा वीरगञ्जमा मात्र यस्तो सुविधा रहेकोमा अब विराटनगरमा पनि यो सुविधा थिपएको हो।
भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम नियमावली, २०१९ संशोधन गर्दै भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो।
नेपाली महावाणिज्यदूतावासको निरन्तरको पहलपश्चात् कोलकाता भन्सारले कोलकाता र हल्दियाबाट वीरगन्जका साथै विराटनगरस्थित नेपाल भन्सारसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो।
यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकैपटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर पठाउन सकिने भएको छ। कोलकाताबाट करिब २४ घन्टामा विराटनगर पुग्ने भएकाले सबै प्रकारका वस्तु आयातमा सहज हुनेछ।