कर्णालीमा विद्युत मर्मत अब छिटो हुने, नेपाल विद्युत प्राधिकरणलाई यान्त्रिक क्रेन उपलब्ध गराइने

अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने बाध्यता अन्त्य हुने, विद्युत अवरोधपछि सेवा पुनःस्थापनामा गति आउने अपेक्षा

कर्णालीमा विद्युत मर्मत अब छिटो हुने, नेपाल विद्युत प्राधिकरणलाई यान्त्रिक क्रेन उपलब्ध गराइने

काठमाडौं - कर्णाली प्रदेशमा विद्युत सेवा थप भरपर्दो, प्रभावकारी र द्रुत बनाउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ। यससँगै विद्युत अवरोधपछि हुने मर्मत कार्य छिटो सम्पन्न हुने र सेवा पुनःस्थापनामा लाग्ने समय उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।

गत असारको दोस्रो सातामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका थिए। अनुगमनका क्रममा सुर्खेतलगायत क्षेत्रमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत आपूर्ति अवरुद्ध हुने तथा मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभाव रहेको जानकारी मन्त्री श्रेष्ठलाई गराइएको थियो। नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले आवश्यक उपकरण व्यवस्थापनका लागि मन्त्रीको ध्यानाकर्षणसमेत गराएको थियो।

अनुगमनपछि मन्त्री श्रेष्ठको पहलमा आवश्यक समन्वय अघि बढाइएको र त्यसकै परिणामस्वरूप नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक प्राविधिक प्रक्रिया तथा सर्भिसिङ सम्पन्न गरी कर्णाली प्रदेश पठाउने निर्णय गरिएको हो।

हालसम्म कर्णालीमा विद्युत उपकरण मर्मतका लागि अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने बाध्यता रहेकाले सेवा पुनःस्थापनामा ढिलाइ हुँदै आएको थियो। अब प्रदेशमै आवश्यक उपकरण उपलब्ध भएपछि मर्मत कार्य छिटो हुने, विद्युत अवरोधको अवधि घट्ने र सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्थानीय तहमा देखिएका व्यावहारिक समस्या समाधान गर्दै विद्युत सेवाको गुणस्तर सुधार गर्ने र नागरिकलाई छिटो तथा सहज सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिइने जनाएको छ।

खबरपाटी
खबरपाटी